
काठमाडौं, मंसिर २० । विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा गरेको सम्मेलन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको पुरस्कारको सरकारले बचाउ गरेको छ ।
सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अनावश्यक विवाद निकालेको आरोप लगाए ।
उनले भने–‘गिरिजाबाबुले त्यही पुरस्कार थाप्दा शान्ति दूत हुने, केपी ओलीले थाप्दा अपराधी देखिने ?’
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत सो संस्थाको सम्मेलनमा भाग लिँदा शान्तिका लागि कोसेढुंगा हुने भन्दै मन्त्री बाँस्कोटाले मिडियाले वास्तविकता लुकाएको आरोप लगाए ।
बारम्बार मिडियाप्रति आक्रोशित हुँदै आएका सन्चारमन्त्री बास्कोटाले बिहीबार पनि नेपालका मिडियाले सही धर्म ननिभाएको र नियतवशः सरकारमाथि खनिएको आरोप दोहोर्याए ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय
त्यसक्रममा यही मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुबारे जानकारी दिँदै उनले प्रधानमन्त्री ओलीलाई दिइएको एक लाख डलर बराबरको रकममा सरकारले उत्तिकै रकम थप गरी ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्करको स्थापना गर्ने निर्णय गरेको बताए ।
यस्तै, ललितपुरको सैबुमा १४९ रोपनीभन्दा बढी क्षेत्रफलमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरुका लागि २७ ओटा आवास भवन र सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको आवासका लागि १४ ओटा भवन निर्माण गर्ने निर्णयसमेत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
पुल्चोकमा रहेको मन्त्री निवासमा १० ओटा राजकीय अतिथिगृह निर्माण गर्ने र जग्गा अपुग भएमा राष्ट्रिय पुस्तकालयको जग्गा उपयोग गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको पनि उनले जानकारी दिए ।
त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउनेलगायतका निर्णयहरुसमेत सो मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्