२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गतिशील परराष्ट्र नीति बनाउने उद्देश्यका गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझायो


0
Shares

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदल टोलीले परराष्ट्रमन्त्रीकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मस्यौदा बुझाएको हो ।

मस्यौदा बुझ्न पाउँदा खुसी लागेको प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।

मस्यौदा बुझ्दै प्रधानमन्त्री देउवाले कार्यादल टोलीलाई धन्यवाद दिएको उक्त कार्यदलका सदस्य शम्भुराम सिम्खडाले जानकारी दिए ।

गत भदौ पहिलो साता मस्यौदा बुझाउनुपर्नेमा सरकार परिवर्तनलगायतका कारण ढिलाइ भएको हो । सिम्खडाकाअनुसार पाँच भागमा विभाजन गरिएको उक्त मस्यौदा ८० पृष्ठ लामो छ ।

समग्र कूटनीति, आर्थिक कूटनीति, सुरक्षा र संस्थागत सुधारलगायतमा प्रतिवेदन तयार गरिएको छ ।

कार्यदलले बद्लिँदो विश्व परिवेशअनुरूपको गतिशील परराष्ट्र नीति बनाउने गरी मस्यौदा तयार पारेको र यसअनुसार सरकारको नीति र प्राथमिकतामासमेत केही हेरफेर हुनसक्ने बताइएको छ ।

मस्यौदामा आर्थिक, सामरिक, रणनीतिक, साँस्कृतिक र जनस्तरको सम्बन्धको हिसाबले महत्वपूर्ण छिमेकी राष्ट्रसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासमेत निर्धारण गरिएको बताइएको छ ।

त्यस्तै, द्विपक्षीय एवं बहुपक्षीय कूटनीति, सीमा सुरक्षा तथा विदेशी प्रभाव र त्यसमा नेपाली परराष्ट्र नीतिका विभिन्न आयाममा पुनःमूल्यांकन गर्नुपर्ने सुझावसमेत मस्यौदामा उल्लेख गरिएको छ ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारले चार महिना समयसीमा तोकेर गत वैशाख ७ मा परराष्ट्रमन्त्री संयोजक रहेको उच्चस्तरीय कार्यदल बनाएको थियो ।

कार्यदलका सदस्य प्राध्यापक श्रीधर खत्रीले संयोजन गर्नेगरी बनाएको उक्त कार्यदलमा ऋषिराज अधिकारी, मधुरमण आचार्य, निश्चलनाथ पाण्डे, शम्भुराम सिम्खडा, विद्याधर मल्लिक, पोषराज पाण्डे, गणेश गुरुङ, शंकरप्रसाद शर्मा, मोहन बञ्जाडे, पवनबहादुर पाण्डे, दीपकप्रकाश भट्ट, राजेन्द्रबहादुर श्रेष्ठ र इन्द्र अधिकारी सदस्य थिए ।