२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


महेन्द्रबहादुर शाहीलाई प्रदेश–६ को मुख्यमन्त्री बन्न बाटो खुला


0
Shares

संसदीय दलको बिहीबार बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ ।

प्रदेश नम्बर–३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिए ।

जमरकट्टेलले जनताको अपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजनालाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताए ।

संसदीय दलको बैठकलाई माओवादी केन्द्रका ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र नेता झक्कुप्रसाद सुवेदीले सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका थिए ।

‘जनताको ठूलो अपेक्षा छ । आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउनुपर्नेछ । यो अवस्थामा माओवादी केन्द्रका सदस्यको भूमिका महत्वपूर्ण र प्रभावकारी हुनु जरुरी छ’–नेताद्वयको जोड थियो ।

प्रदेश–६ को संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही
माओवादी केन्द्र प्रदेश नम्बर–६ को संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) चयन भएका छन् ।

बिहीबार सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत् चयन गरेको सांसद कृष्णा शाहले जानकारी दिइन् ।

संसदभित्र प्रभावकारी भूमिका खेल्नका लागि दलका नेता तथा मुख्यमन्त्रीका प्रमुख दावदार जुम्लाका सांसद नरेश भण्डारीको सयोजकत्वमा तीन सदस्यीय संसदीय विधान मस्यौदा समिति पनि गठन गरिएको सांसद शाहले बताइन् ।

उनकाअनुसार समितिमा रुकुम (पश्चिम)का सांसद विमला केसी र दैलेखका धर्मराज रेग्मीलाई सदस्यमा चयन गरिएको छ ।

अब बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रको भागमा परेको उपसभामुख र संसदीय दलका अन्य पदाधिकारीको चयन गर्ने उनको भनाइ छ ।

बैठकले दलको नेतामा चुनेसँगै शाहीलाई ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुला भएको छ ।

वाम गठबन्धनबीच भएको सहमतिअनुसार यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेको छ ।

६ नम्बर प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

एमाले संसदीय दलमा कँडेल
एमालेले ६ नम्बर प्रदेशले संसदीय दलको नेतामा यामलाल कँडेल (सुर्खेत) लाई चयन गरेको छ ।

ज्येष्ठ सदस्य पदमबहादुर रोकायाको अध्यक्षतामा बिहीबार सुर्खेतमा बसेको संसदीय दलको बैठकले सल्यानका सांसद प्रकाश ज्वालाको प्रस्ताव र जाजरकोटका सांसद करवीर शाहीको समर्थनमा उनलाई दलको नेतामा सर्वसम्मत् चयन गरिएको एमालेका उपाध्यक्ष तथा ६ नम्बर प्रदेश संयोजक युवराज ज्ञवालीले जानकारी दिए ।

संसदीय दलको बैठकबाट यही माघ २९ गते हुने सभामुखको निर्वाचनका उम्मेदवार तथा संसदीय दलका अन्य पदाधिकारी चयन गरिने संसदीय दलका नेता कँडेलले बताए ।

विजयीलाई प्रमाणपत्र
प्रदेश नम्बर–६ बाट राष्ट्रियसभा सदस्यमा विजयीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतद्वारा बिहीबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल र प्रजिअ सीताराम कार्कीले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा राष्ट्रियसभामा नवनिर्वाचित सदस्य कविता बोगटीले देश निर्माण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताइन् ।

उनले भनिन्–‘यो प्रदेशको समृद्धि र विकासका लागि हामी निरन्तर भएर लाग्नेछौं, हाम्रो प्रमुख भूमिका नै यही हुनेछ ।’

अर्का सदस्य कालीबहादुर मल्लले प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने र आर्थिक समृद्धिलाई प्रमुख कार्यसूची बनाएर लैजाने बताए ।

मुख्य निर्वाचन अधिकृत पौडेलले सबै जनप्रतिनिधिलाई जनताका सपना पूरा गर्न अनुरोध गरे । प्रजिअ कार्कीले विजयी सदस्यलाई जनमुखी भएर काम गर्न आग्रह गरे । रासस