१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फागुन ६ गते नयाँ सरकार, पार्टी एकतामा पदको समस्या छैन : दाहाल


0
Shares

शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले फागुन ५ गतेभित्र निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्ने भएकाले फागुन ६ मै नयाँ सरकार बन्ने सम्भावना रहेको बताए ।

अध्यक्ष दाहालले पदको भागबन्डाले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा ढिलाइ नभएको दाबी गर्दै एकताको ‘मोडालिटी’को अन्तिम रुपबारे छलफल चलिरहेको बताए ।

‘पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्ने तर्फ नलाग्नोस्’–विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवन आएका उनले भने–‘अरु नेताले के भन्छन् भन्ने कुरा छाड्नोस् ।’

पार्टी एकता प्रक्रिया गठबन्धन गरेजस्तो सहज नभएको भन्दै उनले पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको जिकिर गरे ।

‘पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकतामा ढिलाइ भएको हो ?’ भन्ने जिज्ञासामा अध्यक्ष दाहालले भने–‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन ।’

एमालेले पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति सबै पद मागेको भनेर गरिएको प्रचार गलत भएको दाहालको भनाइ छ ।