
मुख्य राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाको संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।
संसदीय दलको नेता चुन्न सबैभन्दा बढी सकस एमालेलाई भएको छ ।
प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा एमालेका प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा भइरहेको छ ।
किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशमा एमालेका २७ जना सदस्य छन् ।
संसदीय दलको नेताका विषयमा सहमति हुन नसकेपछि एमालेले संसदीय दलको बैठक भोलिका लागि बोलाएको छ । भोलि बस्ने बैठकले निर्वाचनमार्फत् नेता चयन गर्ने बताइएको छ ।
प्रदेश नम्बर ४ को प्रदेशसभामा १५ सांसद रहेको नेपाली कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
संसदीय दलको नेता चुन्ने जिम्मा उप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई दिइएको छ ।
कांग्रेसमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापाले संसदीय दलको नेता बन्ने आकांक्षा राखेका छन् ।
माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्न प्रतिस्पर्धा चलिरहेको छ ।
माओवादी केन्द्रमा हरिबहादुर चुमान र नेत्रनाथ अधिकारी दलको नेता बन्ने प्रतिस्पर्धामा देखिएका छन् ।
प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् ।
सहमति बन्न नसके मतदान प्रक्रियाबाट नेता छानिने माओवादी केन्द्र कास्कीका सहसंयोजक दीपक कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्