३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


शौचालयको सेफ्टीट्यांकीमा फसेको गैंडाको उद्धार


0
Shares

सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टीट्यांकीमा फसेको गैंडालाई शनिबार बिहान सकुशल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

राति आवतजावत गर्नेक्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैंडा सेफ्टीट्यांकीमा परेको थियो ।

हात्तीसहित निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैंडाको उद्धार गरेको उद्वारमा खटिएका चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सेफ्टीट्यांकीको बिर्को (ढकन) भासिन गइ गैंडाभित्र पस्न पुगेको थियो ।

उनकाअनुसार सेफ्टीट्यांकी भत्काइ बाटो बनाएर गलको सहयोगमा गैंडालाई निकालिएको हो ।

यसैबीच, चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुल्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।

यस्ता खाडल पुर्न र सेफ्टीट्यांकी, गोबरग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो ।

यस्ता खाल्डाखुल्डीमा बाघ, गैंडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए । रासस