
नेपाल भ्रमणमा रहेका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग दाहाल निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएको उनको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष दाहालले नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएकोसमेत बताए ।
अध्यक्ष दाहालले बेलायती सरकारले नेपालको शान्ति–प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाईसमेत धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा अध्यक्ष दाहालसँग रक्षा राज्यमन्त्री ल्याङकाष्टरले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायत विषयमा जिज्ञासा राखेका थिए ।
उनले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाको प्रतिनिधित्वको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका पक्षकाबारेमासमेत अध्यक्ष दाहालसँग छलफल गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्