३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


जर्मनी समूह चरणबाटै बाहिरियो, ब्राजिल र स्वीट्जरल्यान्ड अन्तिम १६ मा


0
Shares

काठमाडौं, असार १४ । साविक विजेता जर्मनी विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

रुसमा जारी विश्वकपअन्तर्गत गएराति भएको समूह एफ को खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै जर्मनी विश्वकपबाटै बाहिरिएको हो ।

सन् १९३८ मा भएको दोस्रो विश्वकपपछि जर्मनी समूह चरणबाटै बाहिरिएको यो पहिलो घटना हो ।

यसपटक जर्मनीले समूहमा स्विडेन विरुद्धको एक खेल मात्रै जित्दा मेक्सिको र दक्षिण कोरियासँग हार वेहो¥यो ।

हिजोको खेलमा दक्षिण कोरियालाई विजयी गराउन किम योङ ग्वान र ह्युङ मिन सनले ईन्जुरी समयमा दुई गोल गरे ।

१-० ले विजयी भएको अवस्थामा राउण्ड अफ सिक्सटिनमा पुग्ने समीकरण बनेका बेला दक्षिण कोरियाविरुद्ध खेलको अन्त्यतिर जर्मनी पुरै आक्रामक बनेको थियो ।

यही अवसरमा दुई गोल गर्दै एसियाली मुलुक दक्षिण कोरियाले विश्वकप फुटबलको इतिहासमा एउटा सनसनीपर्ण जित दर्ता गराएको हो ।

यही समूहको अर्को खेलमा मेक्सिकोलाई ३-० ले पराजित गर्दै स्विडेन विश्वकप फुटबलको राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।

जितपछि मेक्सिकोसँग समान ६/६ अंक जोडेको स्वीडेन गोलअन्तरका आधारमा समूह विजेता बन्यो ।

खेलको सुरुदेखि नै दबाब बनाएको स्विडेनले ५० औं मिनेटमा लुडविग अगस्टिन्सनको गोलमा अग्रता लियो ।

६२ औं मिनेटमा स्विडेनले पेनाल्टी हान्ने अवसर पायो । आन्द्रियास ग्रान्कभिष्टको प्रहार गोलमा बदलिएपछि स्विडेनको अग्रता दोब्बर भयो ।

७४ औं मिनेटमा एड्सन अल्भारेजले आत्माघाति गोल गरेपछि स्विडेनले ३-० को सहज जित हात पारेको हो ।

सन् १९९४ मा बुल्गेरियालाई ४-० ले हराएयता स्विडेनका लागि विश्वकप फुटबलमा यो सबैभन्दा फराकिलो जित हो ।

गएराति पराजित भए पनि मेक्सिको समूह उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।

ब्राजिल नकआउट चरणमा

पाँचपटकको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेताकारुपमा ‘राउन्ड अफ सिक्सटिन’मा पुगेको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन पउलिन्हो र थियागो सिल्भाले १–१ गोल गरे ।

३६औं मिनेटमा कौटिन्होको पासमा पउलिन्होले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा नेइमारको कर्नर प्रहारमा सिल्भाले हेडगोल गरेपछि ब्राजिलको जित पक्का भएको हो । यो जितसँगै ब्राजिलले समूहका तीन खेलबाट ७ अंक जोडेको छ ।

समूहको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २–० ले हराएको थियो ।

ब्राजिलले अब ‘राउन्ड अफ सिक्सटिन’मा समूह ‘एफ’को उपविजेता मेक्सिकोसँग खेल्नेछ ।

स्वीट्जरल्यान्ड पनि ‘राउन्ड अफ सिक्सटिन’

विश्वकप फुटबलअन्तर्गत् समूह ‘इ’कै खेलमा कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै स्वीट्जरल्यान्ड पनि ‘राउन्ड अफ सिक्सटिन’मा पुगेको छ ।

बुधबार रातिको खेलमा स्वीट्जरल्यान्डका ब्लेरीम जेमाइलीले खेलको ३१औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ५६औं मिनेटमा केन्डल वाट्सनले एक गोल गरेपछि कोस्टारिकाले खेल बराबरी गर्‍यो ।

निर्धारित् समय सकिन दुई मिनेट बाँकी छँदा जोसिप डार्मिचले एक गोल थप्दै स्वीट्जरल्यान्डलाई जितनजिक पुर्‍याए ।

तर, इन्जुरी समयमा कोस्टारिकाले पेनाल्टी हान्ने अवसर पायो । ब्रायन रुइजको प्रहार गोल बारमा लागेर स्वीस गोलकिपर यान सोमरको टाउकोमा ठोक्किँदै जाली चुम्न पुगेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

स्वीट्जरल्यान्डले अब नकआउट चरणमा समूह ‘एफ’को विजेता स्वीडेनसँग खेल्नेछ ।