६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


कतारले ‘ओपेक’को सदस्यता त्याग्ने, ग्यास उत्पादनमा केन्द्रित हुने घोषणा


0
Shares

दोहा, मंसिर १७ । खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको संगठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ ।

कतारका ऊर्जामन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने घोषणा गरे ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने–‘कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।’

उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए ।

कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्दछ । हाम्रो क्षमता नै ग्यास हो’–मन्त्री साद अल–काबीले भने ।

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो ।

मन्त्री काबीले कतारको निर्णयकाबारेमा ओपेकलाई पूर्वजानकारी दिइएको बताए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाइ जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ । रासस/एएफपी