
खप्तडको पर्यटन प्रबद्र्धनमा जोड दिन केबलकार सन्चालन गर्ने संकल्पसहित डोटीमा सुरु गरिएको १० रुपैयाँको ‘खुत्रुक्के अभियान’मा सहभागिता उत्साहजनक रहेको हो ।
‘कृषि, पर्यटन, उद्योग–व्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको आधार’ भन्ने मूल नाराका साथ साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम डोटीको दिपायलमा प्रादेशिक महोत्सव भइरहेको छ ।
सुदूरपश्चिमको विकास सधैं नारामामात्र सीमित रहेको र सरकार तथा नेताकोमात्र मुख नताक्ने भन्दै यो अभियान सुरु गरिएको हो ।
महोत्सवमा आउने अवलोकनकर्ता स्वस्फूर्तरुपमा यो अभियानमा सहभागी भइरहेका छन् ।
अभियानका अभियन्ता दिपायल–सिलगढी नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वीरेन्द्र शाहले अभियानमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदै आएको उल्लेख गरे ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटन प्रबद्र्धनका लागि केबलकार निर्माणकार्यमा सहयोग पुर्याउन डोटीमा रहेको शैलेश्वरी यातायात व्यवसायी संघले पनि प्रतिटिकट ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्