
‘मस्ट वान्टेड’को सूचीमा रहेका पुनले ब्यक्ति हत्या गरेपश्चात ‘मैले हत्या गरें’ भनेर मिडिया र प्रहरीलाई जानकारी दिने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
उपरीक्षक ज्ञवालीका अनुसार मनोज पुनको समूहले अन्तराष्ट्रिय कुख्याती कमाउने प्रयासमा रहेको बताए ।
प्रहरीले गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको थियो ।
केन्द्रीय अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीको नेतृत्वको टोलीले पुनलाई इन्काउन्टर गरेको बताएको छ ।
आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।
उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।
पुनमाथि विभिन्न व्यवसायीको हत्या र फिरौती असुलीका संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्