२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने


0
Shares

ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ ।

प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये राजपा नेपालबाट निर्वाचित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेसकी भट्ट ज्येष्ठ देखिएका छन् ।

ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछिमात्रै उनीहरुले अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।

निर्वाचन नभएसम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षकारुपमा जिम्मेवारी लिनेछन् ।

शपथ कार्यक्रम नयाँबानेश्वरस्थित संघीय संसद भवनमा यही फागुन २० गते हुने तय भएको छ ।

प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ः०० र राष्ट्रियसभाका सदस्यलाई ५ः०० बजे शपथ गराइने समय तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ः०० बजे संघीय संसदको अधिवेशन आह्वान गरिसकेकी छन् ।

शपथका लागि तोकिएको समयभन्दा एक घन्टाअगाडि नै संसद भवनमा उपस्थित हुन सांसदलाई सचिवालयले आग्रह गरेको छ ।

शपथमा आउँदा राष्ट्रिय वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोसाकमा आउन सांसदलाई अनुरोध गरिएको संसद सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र शपथमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिनअगाडि नै संघीय संसदको महासचिवलाई उपलब्ध गराउनुपर्नेछ । रासस