१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘प्रहरी हुँ’ भन्दै लुट्ने दुईजना पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नम्बर–११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो ।

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नम्बर–११ निवासी नारायण धिताललाई विशालचोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ ।

धिताल काठमाडौंबाट घर फर्कनेक्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ ।

उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ ।

यस्तै, खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर–२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर–१० बाट शुक्रबार पक्राउ गरेको छ ।

थापाले माघ १५ गते वीरेन्द्र क्याम्पसअगाडि र २४ गते दीपेन्द्रचोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । रासस