३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


भत्ता रकम जोगाएर वडा सदस्यले बनाए पुल


0
Shares

पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा, मंसिर १६ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ पात्लेका एक वडा सदस्यले आफ्नो पहलमा दुईवटा पुल बनाएका छन् ।

वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम लगानी गरेर गाउँमा दुईवटा पुल बनाएका हुन् । पालिकाको बैठकमा सहभागी भएबापत लिएको ८५ हजार ५ सय ५० रुपैंया र थप १ लाख २० हजार रकम खर्चिएर शेर्पाले व्यक्तिगत लगानीमा पात्लेमा पुल निर्माण गरेका छन् ।

आवत जावतमा समस्या भईरहेको विषय उल्लेख गरेर पुल निर्माणको योजना आफुले प्रस्ताव गरे पनि वडा अध्यक्षले प्राथमिकता नदिएपछि आफ्नो भत्ताको रकमले योजना सम्पन्न गरेको शेर्पाले बताए । ‘ठाडो खोला वारी–पारी गर्न विद्यार्थी र गाउँलेलाई समस्या थियो । वडा पालिकाको बजेटले पुल बनाऔं भनेको थिएँ, अध्यक्षले मान्नु भएन,’ शेर्पाले भने ‘मेरो भत्ताको पैसा र अरु थपथाप गरेर गाउँमा २ वटा पुल बनाएँ । चुनावमा बोलेको बाचा पनि पुरा भयो । गाउँको समस्या पनि समाधान गरियो ।’

वडा अध्यक्ष र पालिका अध्यक्षले आफूहरुको सुझाव नसुन्दा जनताको प्रतिनिधि भएर काम गर्न समस्या भईरहेको उनले सुनाए । 

पुल निर्माणमा वडा सदस्य शेर्पाले आर्थिक लगानी गरेपछि स्थानीयले श्रमदान गरेका छन् । वडा सदस्यको नेतृत्वमा काठ र जस्ताको प्रयोग गरेर चलन चल्तिको व्यवस्थित पुल निर्माण भएपछि स्थानीयलाई निकै सहज भएको जनता आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पेम्बा शेर्पाले बताए । विद्यार्थीलाई विद्यालय आवत जावत गर्न धेरै सहज भएको उनको भनाइ छ । 

दोर्जी शेर्पा ओखलढुंगाबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा उनी निर्वाचित भएका हुन् ।