डडेलधुरा, असार १३ । डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन सन्चालनमा आएको छ । सबस्टेसनलाई मंगलबारबाट चार्ज गरिएको छ ।
सबस्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् त्यहीमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सबस्टेसन सन्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् स्याउलेबाटै डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा वितरण हुने जनाइएको छ ।
प्राधिकरणले अहिले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारणलाइनमार्फत् कैलालीको अत्तरिया पुर्याइ फेरि ३३ केभीमार्फत् ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।
सबस्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो ।
सबस्टेसनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्