
उनीहरुले खोला बगरको उब्जाउ नहुने जग्गालाई पर्यटकीय क्षेत्र बनाउँदै दैनिक सयौं पर्यटक र स्थानीयलाई सेवासँगै मनोरन्जनसमेत दिइरहेका छन् ।
दर्जनौं पर्यटकीय तथा धार्मिकस्थल रहेको झापामा स्थानीय दुई युवाको लगानीमै अर्को पनि पर्यटकीय गन्तव्य थपिएको छ ।
झापा कन्काई नगरपालिका–३ का दुई युवाले खोला बगरको उब्जनी नहुने स्थान खरिद गर्दै नयाँ पर्यटकीयस्थल थपेका छन् ।
स्थानीय मनोज शिवाकोटी र दिनेश शिवाकोटीले कन्काई–२ मा ४ बिघा २ कट्ठा जमिनमा ह्याप्पी ल्यान्ड फन पार्क निर्माण सुरु गरेका हुन् ।
यो फन पार्कमा अहिले दैनिक सयौं पर्यटकको भिडनै लाग्न थालेको छ । पर्यटक बढेसँगै आम्दानी पनि राम्रो भएको सञ्चालकहरुको भनाई छ ।
ह्याप्पी ल्याण्डलाई धेरैले सेल्फी डाँडा भनेर पनि चिन्न थालेका छन् । विद्यार्थीलाई लक्षित गरी खोलिएको सो पार्कबाट धेरै कुरा सिकिने संचालक मनोज शिवाकोटीले बताए ।
झापाका अधिकांश नीजि विद्यालयले विद्यार्थीलाई नयाँ ज्ञान दिन भारतको सिलिगुढीस्थित ‘साइन्स सिटी’ लगिरहेका छन् ।
ह्याप्पी ल्याण्डलाई साइन्स सिटीकै रुपमा विकास गरिने परिकल्पना रहेको संचालकहरु बताउँछन् ।
कन्काई नगरभित्रै झन्डै आधा दर्जन पर्यटकीय क्षेत्र छन् । तर, सेल्फी डाँडाको आकर्षणले आन्तरिक पर्यटक ह्याप्पी ल्यान्डतिर बढ्न थालेका छन् ।
यो पार्क निर्माण गर्न पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ । यो क्षेत्र घुम्न र अवलोकन गर्न आउनेका लागि एक महिना अघिनै खुल्ला गरिएको भए पनि केही काम अझै जारी रहेको सञ्चालक दिनेश शिवाकोटीको भनाई छ ।
फनपार्कमा स्वीमिङ पुलसँगै धिमाल, थारु, गुरुङ र राजवंशी जातिको संग्रहालय र होमस्टे राखिएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न सकिने संचालकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्