२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चौथो लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनाका श्रेष्ठले जिते


0
Shares

श्रेष्ठले निर्धारित् दूरी २ घन्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरे । उनले एक लाख रुपैयाँको ‘लुम्बिनी अशोक’ पुरस्कार पाए ।

बिहीबार बिहान कपिलवस्तुको कुदानबाट सुरु भइ ४२.१९८ किलोमिटरको दौड लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सम्पन्न भएको हो ।

म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल दोस्रो र खगेन्द्र भट्ट तेस्रो भए । रिमालले निर्धारित् दूरी २ घन्टा ५७ मिनेट २४ सेकेन्डमा पूरा गरे भने भट्टले ३ घन्टा ३ मिनेट ४० सेकेन्डमा दूरी पूरा गरे ।

दोस्रो भएका रिमालले ७५ हजार रुपैयाँको ‘कपिलवस्तु हुएन सान’ पुरस्कार र तेस्रो भएका भट्टले ५० हजारको ‘मायादेवी गार्डेन उथान्त’ पुरस्कार प्राप्त गरे ।

यस्तै, भारतीय सेनाका तीर्थ पुनले हाफ म्याराथनतर्फको उपाधि जिते । नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कटवाल क्रमश दोस्रो र तेस्रो भए ।

२१ किलोमिटरको यस दौडमा प्रथम भएका पुन, दोस्रो भएका बस्नेत र तेस्रो भएका कटवालले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

यसैगरी, १६ वर्षभन्दामुनिको ५ किलोमिटर दौडको उपाधि सुनिल थापाले जिते भने सन्जय राई र सतेन्द्र यादव क्रमशः दोस्रो र तेस्रो भए ।

प्रथम भएका थापाले १० हजार, दोस्रो र तेस्रो भएकाले क्रमशः सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुमा रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी पिस म्याराथन प्रालि र एडभेन्चर स्पोर्टस् नेपालले दौडको आयोजना गरेका हुन् ।

म्याराथनमा नेपालसहित भारत, चीन, हङकङ, न्यूजिल्यान्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, स्वीडेनलगायतका देशका ९४ जना धावकहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

विगत ४ वर्षदेखि म्याराथन आयोजना गरिएको र धावकहरूले दौड पूरा गर्दा लुम्बिनी र कपिलवस्तु आसपासका बौद्ध सम्पदाहरू समेटिने गरी म्याराथनको रुट तयार गरिएको लुम्बिनी पिस म्याराथनका संरक्षक तथा लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाँडेले बताए ।