१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्टील तथा एल्युमिनियमको आयातमा कर बढाउने ट्रम्पको घोषणा


0
Shares

ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसँगको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले चीन र क्यानडाको नाम नलिइकनै विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए । उनले दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्युमिनियम उद्योगहरुलाई पुनःस्थापित गरिने बताए ।

राष्ट्रपति ट्रम्पले इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर लगाउने आदेशमा आउँदो साता आफुले सही गर्ने अपेक्षा गरेको पनि जनाए । विश्लेषकहरुले भने अमेरिकाले त्यस्तो निर्णय लिएमा चीनले पनि बदलामा अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्न सक्ने आशंका गरेका छन् ।

त्यस्तै, सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसँगको सम्बन्ध पनि बिग्रन सक्छ ।

गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाइएको थियो । अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडाबाट किन्ने गर्दछ ।

त्यस्तै ब्राजिल, दक्षिण कोरिया, मेक्सिको र रुसले पनि अमेरिकालाई इस्पात बिक्री गर्दछन् । अमेरिकाले जति इस्पात निर्यात गर्दछ, त्योभन्दा चार गुना बढी आयात गर्दछ ।

आफ्नो राष्ट्रपतीय चुनावी अभियानका क्रममा र चुनाव जितिसकेपछि पनि राष्ट्रपति ट्रम्पले सस्तो चिनियाँ आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताउँदै आएका थिए । (एजेन्सी)