२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दक्षिण कोरियाली रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश


0
Shares

सियोल, मंसिर १४ । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सन्चालन गर्नेगरी संयुक्त सर्वेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् ।

यसै वर्षको सुरुमा रेलसेवा पुनःस्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका उच्चस्तरीय भेटवार्तामा रेलसेवा पुनःस्थापना गर्ने सहमति भएको थियो ।

दक्षिण कोरियाली इन्जिनियर बोकेको एउटा रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको छ ।

शुक्रबार टेलिभिजनहरुले एउटा रातो, सेतो र नीलो रङको रेल दक्षिण कोरियाको डोरासान स्टेसनबाट उत्तर कोरियाका लागि प्रस्थान गरेको देखाएका छन् ।

अन्तर–कोरियाली सीमाक्षेत्रको पश्चिमी भागबाट यो सबैभन्दा नजिकको रेल स्टेसन हो ।

रेलको अघिल्तिर राखिएको ब्यानरमा ‘शान्ति र समृद्धिको युगमा प्रवेशका लागि ‘आइरन हर्स’ उत्तरतर्फ लाग्यो’ लेखिएको छ ।

‘यसले रेलसेवा पुनःस्थापनामार्फत् उत्तर र दक्षिण कोरियाको संयुक्त समृद्धिको सुरुआतको संकेत गर्दछ’–दक्षिण कोरियाका यातायातमन्त्री किम ह्यून–मीले भनिन् ।

उनले रेलसेवा पुनः जोडिँदा यसले मुलुकको आर्थिक क्षेत्र युरेसियासम्म जमिनबाटै जोड्न मद्दत गर्ने बताइन् ।

कोरियाली प्रायद्वीपको विभाजनले धेरै दशकसम्म भूराजनीतिकरुपमा दक्षिण कोरियालाई अलग्याएको उनको भनाइ छ ।

६ ओटा डब्बा भएको यो रेलमा इन्जिनियर र अन्य अधिकारीसमेत २८ जना दक्षिण कोरियालीहरु रहेका छन् । रेलमा ५५ टन इन्धन र विद्युत् जेनेरेटरसमेत रहेको छ ।

उत्तर कोरियाली सीमाक्षेत्रमा रहेको पानमुन स्टेसनबाट यो ६ डब्बे रेललाई उत्तर कोरियाली रेल इन्जिनले तान्नेछ र दक्षिणको रेल इन्जिन स्वदेश फर्कनेछ ।

दक्षिण कोरियाली र उनीहरुका उत्तर कोरियाली साथीहरुले १८ दिन लगाएर रेललाइनको अध्ययन र अवलोकन गर्नेछन् ।

उनीहरुले उत्तर कोरियाको सबैभन्दा दक्षिणमा रहेको काइसोङ सहरदेखि चीनको सीमासम्म रहेको सिनुइजु सहरसम्म तथा माउन्ट कुमगाङदेखि पूर्वमा रसियासँग सीमा जोडिएको टुमेन सहरसम्मको रेललाइनको निरीक्षण गर्ने बताइएको छ ।

यातायात मन्त्रालयकाअनुसार उनीहरुले संयुक्तरुपमा करिब दुई हजार ६०० किलोमिटर रेलबाटै यात्रा गर्नेछन् ।

सन् १९४८ मा कोरियाली प्रायद्वीपको विभाजन हुनुअघि उत्तर र दक्षिण कोरिया जोड्ने दुईओटा रेललाइन थिए । एउटा पश्चिमी भागमा र अर्को पूर्वी भागमा ।

दुवै देशबीचको समझदारी बढाउने उद्देश्यले सन् २००७ मा पश्चिमी रेललाइनलाई पुनः सन्चालन गरिएको थियो ।

यो रेलसेवाबाट सीमित मात्रामा दक्षिण कोरियाको लगानीमा स्थापित काइसोङ औद्योगिक क्षेत्रसम्म वस्तु तथा सामग्रीको ढुवानी गरिन्थ्यो ।

तर, उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्पन्न विवादपछि यो सेवा करिब एक वर्षपछि बन्द भयो ।

दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको रेलसेवा पुनः सुरु गर्नेसम्बन्धी कार्यक्रम सन्चालन गर्न अर्को वर्षका लागि करिब पाँच करोड ६६ लाख अमेरिकी डलर बजेट व्यवस्था गरिएको बताएका छन् । यो रेलसेवा मर्मत गरी पूर्णरुपमा सन्चालन गर्न करिब पाँच वर्ष लाग्नेछ ।

उत्तर कोरियाको रेलसेवा अत्यन्त नाजुक अवस्थामा छ । एक प्रतिवेदनअनुसार उत्तरका रेलसेवाको गति प्रतिघन्टा २० देखि ४५ किलोमिटरमात्र छ । रासस/एएफपी