
नजिकै अस्पताल नहुँदा यहाँका वृद्धवृद्धा, महिला र बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । उनीहरु गाउँमा आक्कल–झुक्कल पुग्ने निःशुल्क स्वास्थ्य शिविरकै भर पर्नुपरेको छ ।
गुणस्तरीय स्वास्थ्य भन्ने सरकारी नाराले खोकनाबासीलाई अझै छुन सकेको छैन । गाउँमा सामान्य अस्पतालसमेत नहुँदा यहाँका महिला र वृद्धवृद्धाहरुले निःशुल्क स्वास्थ्य शिविरको भर पर्नुपरेको छ ।
शेष–हिरा प्रतिष्ठानले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा खोकनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पनि धेरै महिला, वृद्धवृद्धा र बालबालिकाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
स्वास्थ्य परीक्षण गर्न आउनेमा सबैभन्दा बढी पाठेघरको समस्या लिएर महिलाहरु आएका छन् ।
शेष–हिरा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. विश्वराज दलीले जनरल फिजिसियन, नाक, कान, घाँटी, स्त्रीरोग, क्यान्सर परीक्षणलगायतका सेवा उपलब्ध गराएको बताए ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट बन्चित धेरै सर्वसाधरणलाई प्रतिष्ठानले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
स्वास्थ्य जीवनका लागि महत्वपूर्ण भएकाले दुर्गम क्षेत्रका महिलाहरुको पाठेघरको समस्या निराकरण गर्न निःशुल्करुपमा शिविर सन्चालन गरिएको हो ।
सर्वांग अस्पतालका डा. सानुमैया दलीले आर्थिक अभावका कारण स्वास्थ्य सेवा पाउन नसकेका झन्डै ५०० बिरामीको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको बताइन् ।
सर्वांग अस्पतालका निर्देशक विपीन कापडले अझैपनि ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव भएकाले जनचेतनाका लागि पनि शिविर आवश्यक रहको बताए । यो शिविर सर्वसाधारणका लागि लक्षित रहेको उनको भनाइ छ ।
शेष–हिरा प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र ग्रामीण महिलाहरुको आय–आर्जन अभिवृद्धिका लागिसमेत काम गर्दे आएको छ ।
वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले प्रत्येक वर्ष विद्यार्थीहरुका लागि चित्रलेखन प्रतियोगिता, निबन्ध लेखन, खेलकुदलगायतका प्रतियोगिता पनि गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्