
काठमाडौं, असार १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिकजाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत् परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयअन्तर्गत् सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले काठमाडौंभित्रका मर्मत–सुधारकाक्रममा कलंकी, चाबहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले काममा ढिलाइ भएको बताए ।
मन्त्री महासेठले मुग्लिन–नारायणगढ सडकखन्डमा कालोपत्रेको काम पूरा भएको र पहिरो नियन्त्रणका काम पनि द्रुतगतिमा भइरहेको उल्लेख गर्दै यातायात क्षेत्रमा एकाधिकारको अन्त्य गरिएको बताए ।
पर्याप्त बजेट नभएकाले सम्पूर्ण सडक र पुल समयमा बनाउन नसकिएको बताउँदै उनले बहुवर्षीय ठेक्काको भुक्तानीका लागि आवश्यक प्रबन्ध मिलाइएको पनि जानकारी दिए ।
मन्त्री महासेठले अब उपभोक्ता समितिमार्फत् नभइ प्रचलित कानुनबमोजिम ठेक्का प्रणालीको व्यवस्था हुने र सोहीअनुरुप काम अघि बढाइने स्पस्ट गरे ।
मन्त्री महासेठसँग सांसदहरु प्रेम सुवाल, अतहर कमाल मुसलमान, दुर्गाबहादुर राउत, राजेन्द्रकुमार केसी, ज्ञानकुमारी छन्त्याल, दिलेन्द्रप्रसाद बडू, रंगमती शाही, प्रेमबहादुर आले, देवप्रसाद तिमल्सिना, केदार सिग्देल, विमला विक, कृष्णप्रसाद दाहाल, अञ्जना बिसंखेले थप स्पष्टीकरण गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्