दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान • Image Khabar Image Khabar


दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार १६:१४

दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतकारूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

उनीहरु मंगलबारमात्र स्वदेश फर्किएका थिए । उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, उनीहरुले उत्तर र दक्षिण कोरियाको वार्ताका विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणकाबारेमा जानकारी गराउने बताइएको छ ।

उनीहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणकाक्रममा भएको पछिल्लो विकसित परिस्थितिकाबारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराउने बताइएको छ ।

उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के–कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणु अस्त्रको उत्पादन रोक्नेबारेमा के प्रतिक्रिया दिएको छ भन्नेबारेमा सो भेटमा उनीहरुले जानकारी दिने जनाइएको छ ।

विशेषदूतकारुपमा उनीहरुले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गरेका थिए ।

सो भेटवार्ताकाक्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

त्यस वार्ताकाक्रममा उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणु अस्त्र निर्माणको कार्यमा पनि पुनःविचार गर्नसकिने धारणा राखेको समाचार आएको थियो ।

त्यस विषयमा पनि उक्त भ्रमणकाक्रममा जानकारी गराइने जनाइएको छ ।

विशेषदूतद्वय आगामी शनिबारसम्म वासिङ्टन डिसीमा रहने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लू हाउस’ले जनाएको छ ।

परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावकाबारेमा पनि विशेषदूतहरुले अमेरिकी अधिकारीहरुसँग भेटकाक्रममा जानकारी गराउने भएका छन् ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्‍याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका थिए ।

यस समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा पनि केही सुधारका संकेत देखिएका छन् । यी दुई देशले पनि वार्ताको चाहना व्यक्त गरेका छन् ।

सोही कारण पनि दक्षिण कोरियाली विशेषदूतले अमेरिकाको भ्रमण गर्न लागेका अनुमान गरिएको छ ।

हालैमात्र दक्षिण कोरियामा सम्पन्न भएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्