१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आर्मीले पुलिसलाई हरायो, जर्जप्रिन्सको गोलले सेमिफाइनलमा


0
Shares

बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीले अब शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दुई विभागीय टोलीबीचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक रह्यो ।

तुलनात्मकरुपमा पहिलो हाफमा पुलिसले बल आफ्नो नियन्त्रणमा राखेपनि गोलको खाता भने आर्मीले खोल्यो ।

खेलको ४३औं मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पुलिसका खेलाडीले आर्मीका नवयुग श्रेष्ठलाई फाउल गरेपछि पाएको फ्रिकिकमार्फत् जर्जप्रिन्सले शानदार गोल गरेका हुन् । त्यही गोल नै आर्मीको जितमा निर्णायक बन्यो । दोस्रो हाफमा कुनैपनि गोल हुन सकेन ।

खेलको ‘म्यान अफ दी म्याच’ जर्जप्रिन्स नै घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक टोली झापा–११ र थ्रीस्टार क्लब भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।