१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


क्युबामा संसद्का लागि मतदान, क्याष्ट्रो युग अन्त्यको सम्भावना


0
Shares

आम निर्वाचनमा ६० वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण प्रक्रियाको रुपमा हेरिएको छ ।

आइतबार भएको निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले क्याष्ट्रो परिवारभन्दा बाहिरबाट नयाँ राष्ट्रपति चयन गर्नेछ ।

वर्तमान राष्ट्रपति ८६ वर्षीय राहुल क्याष्ट्रो आउँदो महिना राष्ट्रपति पदबाट बाहिरिने लगभग निश्चित भएको बताइएको छ ।

राहुलले सन् २००६ मा आफ्ना दाजु फिडेलमार्फत् राष्ट्रपति पदको जिम्मेवारी लिएका थिए । फिडेलले सन् १९५९ को विद्रोहदेखि देशको शासन सत्ताको नेतृत्वगर्दै आएका थिए ।

सन् २०१६ मा फिडेलको मृत्यु भएपछिको यो पहिलो आमनिर्वाचन भएकाले यसलाई वंश राजनीतिमा आउने परिवर्तनका रुपमा लिइएको छ ।

यस निर्वाचनबाट झण्डै ८० लाख क्युबाली जनताले नयाँ संसदको चयन गर्नेछन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवार क्युबाली कम्युनिष्ट पार्टी, वा ट्रेड युनियनको सदस्य बन्नुपर्ने छ ।

गतवर्ष निर्वाचन घोषणागर्दा राष्ट्रपति राहुल क्याष्ट्रोले भनेका थिए, ‘क्षमता र राष्ट्र निर्माणमा प्रतिबद्धता भएका उम्मेदवार छान्न म सबै नागरिकलाई आग्रह गर्दछु ।’

चुनावी मैदानमा उत्रिएका उम्मेदवारमध्ये झण्डै आधा अर्थात् ३२२ जना महिला उम्मेदवार रहेका छन् । (रासस/एएफपी)