कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला • Image Khabar Image Khabar


कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार ११:४३

कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला

नेशनल पिपुल्स अफ कंग्रेसको बैठकमा चिनियाँ राष्ट्रपति राष्ट्रपतिको दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउन भएको मतदानमा दुई सदस्यलेमात्र विपक्षमा मत दिएका थिए । दुई हजार ९६४ मतदातामध्ये तीन जना अनुपस्थित थिए ।

९० को दशकमा चीनमा राष्ट्रपतिका लागि अधिकतम दुई कार्यकालको संवैधानिक प्रावधान बनाइएको थियो ।

आखिर राष्ट्रपति चिनफिङ कसरी यति शक्तिशाली बने ? विश्वका लागि चासोको विषय बनेको छ । उनको बारेमा बाहिरी विश्वलाई निकै कममात्र थाहा छ । किनकि चिनियाँ सरकारी स्रोतले उनका बारेमा उपलब्ध गराएका जानकारीमात्र सार्वजनिक हुने गर्दछ ।

कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला

२१ औं शताब्दीमा विश्वका तमाम नेतामध्ये यस्ता नेता कम नै होलान् जो गुफामा बसेको होस् र खेतबारीमा कुटो कोदालो चलाएर मेहनतको पसिना बगाएको होस् । पाँच दशकअघि जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी आएको थियो, त्यतिबेला १५ वर्षका चिनफिङ आफ्नो जन्मथलोमा कष्टकर जीवन बिताइरहेका थिए ।

चारैतिर पहेँला भीर, अग्ला पहाडका बीच चिनफिङले जीवनको संघर्ष सुरु गरेका हुन् । गृहयुद्धका क्रममा चीनको कम्युनिस्टको गढ मानिने येनानमा नै उनको बाल्यकाल बितेको थियो । येनानको लियाङ्गजिआहे गाउँमा उनले कुटोकोदालो गरेर जीवनको संघर्ष सुरु गरेका थिए । त्यसैले अहिले पनि चिनफिङ आफूलाई ‘पहेँलो माटोको छोरा’ भन्ने गर्दछन् ।

चीनको अधिकांश ग्रामिण क्षेत्र तीव्र रुपमा शहरीकरण हुँदैगर्दा चिनफिङको गाउँ भने जस्ताको तस्तै राखिएको छ । उनको पैतृक गाउँलाई चिनियाँ कम्युनिस्टको आम कार्यकर्ताका लागि तीर्थस्थलका रुपमा त्यसरी राखिएको हो ।

भर्खरै राष्ट्रपति चिनफिङले दोस्रो कार्यकाल सुरु गरेका छन् । पहिलो कार्यकालमा उनी निकै लोकप्रिय र शक्तिशाली बने । उनको लोकप्रियता र शक्ति बढ्नुमा उनले गरेको मेहनत र जनतासँगको सामिप्यतालाई नै कतिपयले मुख्य कारण मानेका छन् । उनी गाउँका बासिन्दासँग बेलाबखत घुलमिल हुन जाने गर्दछन् । गाउँलेहरुसँग उनीहरुकै परिवेश र भाषामा कुरा गर्दछन् ।

देशका युवा तथा विद्यार्थीलाई उनी सही बाटो देखाउने क्रममा भन्ने गर्दछन्, ‘जीवन भनेको हामीले लगाउने सर्टजस्तै हो, सुरुको एउटा टाँस सही ठाउँमा लगाइएन भने बाँकी सबै टाँक गलत ठाउँमा लगाइन्छ ।’

त्यसो त, उनी जन्मजात गरिब किसान परिवारका सदस्य होइनन् । उनका पिता कम्युनिस्ट क्रान्तिका नायक थिए । यस्तो अवस्थामा उनले एक राजकुमारसरहको जीवन पनि अनुभव गरेका छन् । क्रान्तिका क्रममा उनी जब ग्रामिण किसानको नजिक पुगे, खेतबारीमा मेहनत गरे, त्यसबाट उनले जीवनको अर्को पाटो अनुभूति गरे ।

जीवनका यिनै दुई पाटोलाई राम्ररी बुझेका उनले यिनै दुई पाटोबाट आफ्नो राजनीतिक गन्तव्य र मुलुकको भविष्य कोर्ने आधार निर्माण गरे ।

भनिन्छ, ६० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओले आफ्नै पार्टीका नेताहरुमाथि गरेको अत्याचारबाट चिनफिङ पनि मुक्त हुन सकेनन् । माओले चिनफिङका पितालाई पार्टीबाट निश्कासित गरे, त्यसपछि जेल पठाए । चिनिफिङको परिवारले त्यतिबेला निकै अपमान र सामाजिक तिरस्कार सहनु परेको थियो ।

१३ वर्षको उमेरमा चिनफिङको अध्ययन बन्द भयो । किनकि बेइजिङका सबै विद्यालय बन्द गरिएका थिए । त्यतिबेला उनी लालसेनाबाट ज्यान जोगाउन भाग्दै–लुक्दै हिँडेको पनि बताइन्छ ।

यही समयमा उनी गुफामा आश्रय लिएर बसेका थिए । उनी खेतबारीमा काम गर्दथे । टुकीको प्रकाशमा उनी गुफाभित्रै अध्ययन गर्दथे । दिनभर काम, साँझ अध्ययन उनको दैनिकी नै बनेको थियो ।

१८ वर्षको उमेरमा उनले राजनीतिक जीवन सुरु गरे । उनी कम्युनिस्ट युथ लिगमा प्रवेश गरे । बारम्बार अस्वीकृत हुँदै उनी २१ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्य बने । उनी २५ वर्षको हुँदा उनका पिताको पनि चिनियाँ कम्युनिस्ट पार्टीमा पुनरागमन भयो । त्यसपछि चिनफिङलाई केही सहज भयो ।

७० को दशमा चिनफिङ चिनियाँ सेनामा सामेल भए । त्यतिबेलै उनले चीनको शीर्ष नेतामा पुग्ने आफ्नो लक्ष्य निर्धारण गरेका थिए ।

कुटो–कोदालोदेखि चीनको सर्वोच्च पदसम्मको यात्रा, आजीवन राष्ट्रपति बन्ने बाटो खुला

नभन्दै २०१२ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सवोच्च नेता चुनिए । त्यसपछि उनले चीनको आर्थिक विकासलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाले ।

पछिल्लो समय ‘वन बेल्ट वन रोड’ परियोजनामार्फत उनले विश्वमा नयाँ तरंग ल्याए । चीनमा ‘एक बच्चा नीति’ उनले अन्त्य गराए ।

यतिबेला उनी माओसरहकै सम्मानित स्थानमा पुगेका छन् । उनलाई त्यहाँको संसदले आजीवन राष्ट्रपति हुने बाटो खोलिदिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्