१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छ : ट्रम्प


0
Shares

वासिङ्टन, फागुन २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मकमात्र नभएर महत्वपूर्ण पनि हुनसक्ने बताएका छन् ।

उनले भने–‘सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ ।’

राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेका हुन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि बताए ।

उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबारमात्र बताएका थिए । उनले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गरेका थिए ।

यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उनले गरेका थिए ।

‘मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ’–उनले भने ।

उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने जनाइएको छ ।

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ ।

वार्ताको तयारी पुगेको छैन : क्लिन्टन
यसैबीच, अमेरिकी डेमोक्र्याटिक पार्टीकी नेत्री तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले उत्तर कोरियासँग गर्ने भनेको वार्ताका लागि आवश्यक तयारी नै नगरेको बताएकी छन् ।

उनले उत्तर कोरियासँगको वार्ता त्यति सहज नरहेको भन्दै वार्ता गर्दाको संवेदनशीलता ट्रम्प प्रशासनले अहिलेसम्म पनि नबुझेको आफूले पाएको बताएको जनाइएको छ ।

यस संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशानसले गर्नसक्नेमा आफू विश्वस्त नरहेको उनको भनाइ थियो ।

पूर्वविदेशमन्त्री क्लिन्टनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छन्–‘किम जोङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धरै कुरामा विचार गर्नुपर्छ र त्यस वार्ताको संवेदनशीलताबमोजिम तयारी पनि गर्नुपर्छ ।’

अमेरिकी नेत्री क्लिन्टनले ट्रम्प प्रशासनले विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनाएको आरोप लगाउँदै अहिलेकै अवस्थामा उत्तर कोरियासँगको वार्ता सफल हुनेमा आफू विश्वस्त नरहेको बताएकी छन् ।

‘अमेरिकाका वरिष्ठ कूटनीतिज्ञहरुको व्यापक तयारीबिना वार्तामा बस्न पनि सम्भव छैन र यो वार्ताको संवेदनशीलता र खतरालाई ट्रम्प सरकारले बुझेकोजस्तो मलाई लाग्दैन’–उनले भनेकी छन् ।

तयार गरेरमात्र वार्ता हुन्छ : स्यान्डर्स्
उता, राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना प्रवक्ताले वासिङ्टनले उत्तर कोरियाका आगामी दिनका कदमहरू हेरेर र व्यापक तयारी गरेरमात्र उसँग वार्ता हुने बताउकी छन् ।

प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाका आगामी दिनका कामहरु नहेर्दासम्म राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ताको हतार नगरिने स्पस्ट गरेकी हुन् ।

उनले भनिन्–‘वार्तामा खासमा उत्तर कोरियालाई परमाणुअस्त्रको होडबाट निःशस्त्रीकरणसम्म पुर्‍याउने एक महत्वपूर्ण कमद हुनुपर्छ र त्यस कार्यका लागि ट्रम्प प्रशासनले व्यापक मात्रामा तयारी गर्नेछ ।’

गएको बिहीबार अमेरिकाको भ्रमणमा पुगेका दक्षिण कोरियाली एकजना दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए ।

तर, सो वार्ता कहाँ र कुन मितिमा हुने भन्नेबारेमा भने निश्चित भएको छैन । यस वार्तालाई संसारका मिडियाले पनि बडो रोचकरुपमा पछ्याइरहेका बताइन्छ । रासस/एएफपी