
जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्न असफल चार टोलीले प्लेअफ खेल्न लागेका हुन् । अर्को खेलमा बिहीबारै नेदरल्यान्ड्स र हङकङ भिड्दैछन् ।
खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘बी’को चौथो स्थानमा रहेको थियो भने पपुवा न्यूगिनी समूह ‘ए’को पुछारमा रहेको थियो ।
यो खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाउन नेपालले पपुवा न्यूगिनीलाई पराजित गर्नैपर्ने हुन्छ ।
१० टिमले सहभागिता जनाएको विश्वकप छनोट प्रतियोगितामा सातौं हुने टिमले एक दिवसीय खेल्न पाउने भएकाले नेपाललाई जित्नैपर्ने दबाब छ ।
नेपालको जित र अर्को खेलमा हङकङको हारले नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाउनेछ । यदि हङकङ विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।
विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउनेछन् भने पुछारमा रहने दुई टिम डिभिजन–२ मा घटुवा हुनेछन् ।
एसोसिएट टोलीमध्येबाट स्कटल्यान्ड र युएईले सुपर सिक्समा स्थान बनाएर एक दिवसीय हैसियत पक्का गर्दा नेपालसहितका चार टोलीबीचको विजेता टोलीले पनि एक दिवसीय हैसियत पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्