
बिहीबार भएको खेलमा नेपाल ६ विकेटले विजय भएको हो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ब्याटिङमा अविजित रहँदै ५० तथा बलिङतर्फ ४ विकेट लिए ।
जितका लागि पाएको ११५ रनको सामान्य चुनौती नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नेक्रममा दीपेन्द्रले ५८ बलमा ५० तथा आरिफ शेखले २६ रन जोडे ।
यसअघि, ३५ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्काले २०, अनिलकुमार शाहले ९ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले एक रन बनाएका थिए । रोहितकुमार पौडेलले अविजित रहँदै ३ रन जोडे ।
त्यसअघि, टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित् ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै ११४ रनमा समेटेको थियो ।
दीपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर तथा सन्दीप लामिछानेले ८ ओभरमा २९ रन खर्चेर समान ४/४ विकेट लिए । सोमपाल कामी र करण केसीले १/१ विकेट लिए ।
प्रतियोगिताको ‘सुपर सिक्स’मा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानसम्मको टुंगो लगाउन प्लेअफ खेलेका हुन् ।
बिहीबारै भइरहेको अर्को प्लेअफ खेलमा अहिले नेदरल्यान्ड्स र हङकङ भिडिरहेका छन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन आजका खेलमा नेपालको जित र हङकङको हार जरुरी छ । यदि हङकङ विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।
विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउनेछन् भने पुछारमा रहने दुई टिम डिभिजन–२ मा घटुवा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्