अस्पतालका कानून अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास • Image Khabar Image Khabar


अस्पतालका कानून अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास


Imagekhabar
३ चैत्र २०७४, शनिबार १३:०७

अस्पतालका कानून अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

चितवन, चैत ३ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए ।

सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने- “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।”

१९/२० वर्ष उमेरको एउटा र ३५/३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए ।

सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उनले बताए ।

हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए ।

तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनले बताए ।

सापकोटामानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि हुन । रासस

 

प्रतिक्रिया दिनुहोस्