कारोबार र नेप्से दुवैमा गिरावट • Image Khabar Image Khabar


कारोबार र नेप्से दुवैमा गिरावट


Imagekhabar
३ चैत्र २०७४, शनिबार २०:४७

कारोबार र नेप्से दुवैमा गिरावट

यो साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको ३३ लाख ४९ हजार कित्ता सेयरहरु एक अर्ब २९ करोड ३६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा झन्डै २८ प्रतिशत बराबर कम हो । गत साता १७१ कम्पनीहरुको ४७ लाख ९३ हजार कित्ता सेयरहरु एक अर्ब ७९ करोड ४७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४.२७ अंकले बढेर अन्तिम दिन १२८८.३६ अंकमा पुगेको छ । तर, आइतबार ३१ अंकको उच्च गिरावट आएको थियो ।

गत साताको अन्तिम कारोबार भएको बुधबारको तुलनामा नेप्से २७ अंक बराबरले घटेको हो ।

समूहगत उतार–चढावअन्तर्गत् यो साता उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४४ अंकको कमी आयो भने होटल समूह सबैभन्दा उच्च ७५ अंकले उकालो लाग्यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा नेपाल लाइफलाई नबिल बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एनआइसी एसिया बैंकले क्रमशः पच्छ्याउन पुगे ।

यसै साता नेप्सेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंकका बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी, बरुण हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, स्वरोजगार लघुवित्त, चिलिमे जलविद्युत् कम्पनीलगायतका पनि बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्