
-दीपक श्रेष्ठ र राममान डंगोल(ईमेज):
काठमाडौं, चैत ४ । महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गरेर समाजमा आतंक फैलाउनेहरुमाथि निगरानी बढाएको छ ।
प्रहरीले गुण्डागर्दी गर्नेहरुको सुक्ष्म मूल्यांकन गर्दै वर्गीकरणसमेत गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको तथ्यांकमा काठमाडौंमा मात्र १ सय ५० भन्दा बढी ‘गुण्डा’हरु रहेको देखिन्छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार यी गुण्डाहरुले राजधानीको विभिन्न स्थानलाई आफ्नो अखडा बनाइ अपराध गर्ने गरेका छन् ।
महानगरीय प्रहरीले आफ्नो सूचीमा रहेका गुण्डाहरुलाई क, ख र ग वर्गमा राखेको छ । यी गुण्डाहरुको अपराधशैली लाई सुक्ष्म मुल्यांकन गरी वर्गीकरण गरिएको बरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरीले आफ्नो सूचिमा रहेका गुण्डाहरुमाथि निरन्तर निगरानी गरिरहेकोे पोखरेलले बताए ।
सूचिमा रहेका कतिपय गुण्डा नाइकेहरु पक्राउ परिसकेको र केही अहिले आपराधिक कृयाकलापबाट टाढा रहेको उनको भनाइ थियो ।
प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइकेहरु मध्ये गणेश लामा केही दिनअघि मात्र पक्राउ परिसकेको भन्दै पोखरेलले सूचीमा रहेका राजिव गुरुङ अर्थात दिपक मनाङ्गेको पनि खोजी भइरहेको बताए ।
विगतमा गुण्डा नाइकेहरुले राजनीतिक शक्तिकेन्द्रको आडमा आफूलाई जोगाइ रहेका थिए ।
अव त्यस्तो हुन नदिन प्रहरीले राजनीतिक हस्तक्षेपलाई कत्तिको झेल्न सक्छ त्यो भने समयले नै देखाउने छ ।
प्रतिक्रिया दिनुहोस्