२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चुनौतीको चाङ


0
Shares

तर, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा प्राप्त यो उपलब्धि जोगाउनु र अवसरको सदुपयोग गर्नु निकै चुनौतीपूर्ण देखिएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता लिएर जिम्बाब्वेबाट स्वदेश फर्कंदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा हर्षित र चिन्तित दुबै देखिन्थे ।

विश्वकप छनोट क्रिकेटमा आठौं हुँदै इतिहासमै पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यताप्राप्त गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैगर्दा खेलाडीहरुमा पनि त्यो भाव प्रस्ट देखिन्यो ।

हुनपनि नेपाली टोलीले यस्तोबेला इतिहासकै ठूलो सफलता प्राप्त गरेको छ, जतिबेला नेपाली क्रिकेटको नियमनकारी संस्था क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निलम्बनमा रहेको छ भने घरेलु क्रिकेटको गतिविधि करिब–करिब शून्यको अवस्थामा छ ।

त्यसैले नेपाली टोलीले प्राप्त गरेको यो ऐतिहासिक सफलताले एकातिर अवसरको मार्गप्रशस्त गरेको छ भने अर्कातिर चुनौतीको चाङ तेर्स्याएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)का नवनिर्वाचित अध्यक्ष मनीषराज पाण्डे नेपाली टोलीले प्राप्त गरेको उपलब्धि संस्थागत गर्न र अवसरको सदुपयोग गर्न सबैभन्दापहिले क्यानको विवाद समाधान हुनुपर्ने बताउँछन् ।

आइसीसीको निर्देशनअनुरुप क्यानको विवाद समाधान गरेर निश्चित योजनाको साथ अघि बढ्ने हो भने आगामी दिनमा नेपाली क्रिकेटले अझ ठूलो सफलता प्राप्त गर्नसक्ने सिप्यानका अध्यक्ष पाण्डेको भनाइ छ ।

उनले त्यसका लागि क्रिकेट खेलाडी संघ सिप्यानले प्रभावकारी भूमिका खेल्ने बताए ।