२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बलात्कारको बदला बलात्कार ! पीडितका दाजुले पीडककी बहिनीलाई मिलापत्रका नाममा गरे बलात्कार


0
Shares

यो घटना पाकिस्तानको पञ्जाव प्रान्तको हो, जहाँ प्रहरीले बलात्कारमा संलग्न तथा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सीहरुका अनुसार एक बलात्कारीलाई कथित रुपमा माफी दिने र मिलापत्र गर्ने नाममा पीडित युवतीका दाजुलाई पीडककी बहिनी बलात्कार गर्न अनुमति दिनेहरुसमेत पक्राउ परेका छन् ।

‘डन न्यूज’का अनुसार टोबा टेक सिंह जिल्लामा एक युवकले २० मार्चमा एक महिलालाई बलात्कार गरेका थिए । घटनापछि आरोपीका परिवारजनले पीडित परिवारसँग माफी मागेका थिए । पीडित परिवारले माफीका लागि शर्त राखेको थियो । पीडित परिवारले पीडककी बहिनीलाई बलात्कार गर्ने शर्त अघि सारेको र उक्त शर्तलाई पीडिकका परिवारले समेत स्वीकार गरेको बताइएको छ ।

सोही सहमतिअनुसार बलात्कारको बदलामा बलात्कार भएको थियो । दुवै परिवारले एक अर्कामाथि कानुनी कारवाहीका लागि उजुरी नगर्ने लिखित सहमतिसमेत गरेका थिए ।

अघिल्लो बलात्कारसम्बन्धमा प्रहरीमा दिएको उजुरी फिर्ता लिने क्रममा दुवै परिवारले आपसमा कानूनी कारवाहीका लागि उजुरी नगर्ने सहमतिपत्रसमेत प्रहरीमा पेश गरेका थिए । प्रहरीले सोही सहमतिपत्रलाई संदेहको नजरले हेर्दै थप अनुसन्धान गरेको थियो ।

सोधपुछका क्रममा बलात्कारको बदलामा बलात्कार भएको घटना प्रकाशमा आएपछि प्रहरीले व्यापक गिरफ्तार गरी कानूनी कारवाही अघि बढाएको हो ।

पञ्जाव प्रान्तमा बलात्कारको बदलामा बलात्कारको घटना दोस्रो पटक प्रकाशमा आएको हो । यसअघि गत वर्ष जुलाईमा पनि सोही प्रान्तको एउटा गाउँमा पञ्चायतले बलात्कारको बदलास्वरुप बलात्कार गर्न एक युवकलाई अनुमति दिएको थियो । आफ्नी बहिनीको बलात्कारको बदलास्वरुप ती युवकले पञ्चायतकै सामू पीडकको बहिनीलाई बलात्कार गरेका थिए । (एजेन्सी)