कांग्रेस सांसद बडूद्वारा प्रजातन्त्र र सहिद दिवसको बिदा कटौतीको विरोध • Image Khabar Image Khabar


कांग्रेस सांसद बडूद्वारा प्रजातन्त्र र सहिद दिवसको बिदा कटौतीको विरोध


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १५:०२

कांग्रेस सांसद बडूद्वारा प्रजातन्त्र र सहिद दिवसको बिदा कटौतीको विरोध

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरे ।

सांसद बडूले दार्चुलाको सिमानामा भारतीय पक्षबाट एकपक्षीयरुपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

सांसद हृदयेश त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैं तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्दका प्रभु साहले तराईमा बाढीपीडित जनताका समस्या यथावत् रहको भन्दै तत्काल पुनःस्थापना र दीर्घकालीन राहतको माग गरे ।

उनले आगामी वर्षामा आउनसक्ने बाढीको सम्बन्धमा सचेत हुनुपर्नेमा जोड दिँदै ‘प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेन्डाका सम्बन्धमा संसदलाई जानकारी गराउनुपर्छ’–भने ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिकाबारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गरे ।

उनले जनताका भावनासँग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेरमात्र काममा प्रगति नहुने धारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भएपनि पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले तराईमा आएको असिना–पानीबाट कृषिमा भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण पनि गराए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करिब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरिन् ।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले संखुवासभामा भएको जिप दुर्घटनाको जानकारी गराउँदै दुर्घटनामा निधन भएकाको सम्मानसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

कांग्रेसका जीवछिरिङ लामाले भूकम्पपीडितका घर द्रुतगतिमा निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लामा अस्पताल भएपनि डाक्टर नभएको र सडक भएपनि यातायातको व्यवस्था नभएको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रका गंगा सत्गौवा चौधरीले गौतमबुद्ध जन्मेको देशमा गाई काटेर खान पाउनुपर्छ भन्ने विषय सार्वजनिक भएको विषयप्रति टिप्पणी गर्दै ‘कुनैपनि धर्मका नाममा पशुको काटमार गर्नु अमानवीय हो’–भनिन् ।

कांग्रेसका राजेन्द्र केसीले दक्षिणकाली बस दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग माग गरे ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ठूला कुराभन्दा साना–साना कुरामा सरकारको ध्यान जानुपर्ने भन्दै काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीले सडक जाम भएको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस्