काठमाडौं ।
केही समय अघिसम्म पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल फेरि नजिकिन थालेका छन् ।
प्रदेशको सत्ता राजनीतिले उनीहरूलाई एकै ठाउँमा उभ्याउने अवस्था आएको हो । ओली र दाहाल निकट हुँदै गर्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली कांग्रेसमा पर्ने देखिएको छ । एमालेसँगको सत्ता सहकार्य अन्त्य गरेपछि कांग्रेसले नेकपासँग संवाद अघि बढाउने प्रयास गरे पनि दाहाल ओलीतिर लहसिएपछि कांग्रेसको प्रयास असफल हुने संभावना देखिएको छ । एक रिपोर्ट ।
नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीचको राजनीतिक सम्बन्ध सधैं सत्ताकै वरिपरि घुम्दै आएको छ ।
सत्ता सहकार्यको स्वार्थ मिल्दा चाटाचाट र नमिल्दा कूटाकूट गर्ने परिस्थितिबाट यी दुई नेता गुज्रिदै आएका छन् । राष्ट्रिय राजनीतिमा यी दुई नेताको सहकार्य र टकरावले पटक–पटक सत्ता समीकरणलाई नयाँ मोड दिएको छ । २०७४ सालको वाम गठबन्धनदेखि सुरु भएको उनीहरूको संयुक्त राजनीतिक यात्रा नेकपा गठनसम्म पुगेको थियो । तर, पार्टीभित्रको शक्ति संघर्ष, नेतृत्व विवाद र राजनीतिक अविश्वासका कारण त्यो एकता लामो समय टिक्न सकेन ।
त्यस यता ओली र प्रचण्डबीचको सम्बन्ध पटक–पटक फेरिएको छ । यही बीचमा उनीहरुबीच फेरि सत्ता सहकार्यको राजनीति सुरु भएको छ । केही प्रदेशहरुमा कांग्रेसले एमालेसँगको गठबन्धन तोडेपछि एमाले र नेकपाबीच सत्ता सहकार्यको ढोका खुलेको छ ।
त्यसका लागि नेताहरुले आन्तरिक रुपमा छलफललाई तीव्रता दिइरहेका छन् । जेनजी आन्दोलनपछि आएको शक्तिशाली सरकारको पेलानमा परेपछि बाम एकताको बहस पनि तीव्र बनिरहेको छ । यस्तो गृहकार्य चलिरहेका बेला प्रदेशको सत्ता राजनीतिले दुबै दललाई सहकार्यको वातावरण बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्