Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ : विनोद दास


0
Shares

महेन्द्रनगर युनाइटेडले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वकप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताए ।

‘अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ’–महेन्द्रनगर युनाइटेड टोलीकोसमेत प्रशिक्षक रहेका दासले भने–‘क्रिकेटमा चुनौती धेरै छन्, तिनको सामना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

कैलालीको धनगढीमा शनिबारदेखि सन्चालन हुने धनगढी प्रिमियर लिग (डीपीएल)मा आफ्नो टोलीलाई सहभागी गराउनुअघि प्रशिक्षक दासले नेपालमा निजी क्षेत्रको लगानीमा क्रिकेट प्रतियोगिता आयोजना हुनु सुखद् पक्ष भएको बताए ।

उनले डीपीएलजस्तै अन्य प्रतियोगिता सन्चालन गर्नुपर्नेमा जोड दिए ।

क्रिकेटमा नेपालले हालै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त गरेकाले आगामी दिनमा खेलाडीलाई बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर आफ्नो क्षमता प्रदर्शनको मौका दिनुपर्ने प्रशिक्षक दासको भनाइ थियो ।

‘अब घरेलु प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनतर्फ लाग्नुुपर्छ, क्रिकेटमा सरकारी र निजी क्षेत्रले लगानी बढाउनुपर्छ’–उनले भने ।

धनगढी प्रिमियर लिग (डीपीएल)का लागि महेन्द्रनगर युनाइटेडले दुईजना भारतीय खेलाडीसमेत अनुबन्ध गरेको छ ।

महेन्द्रनगर युनाइटेडले भारतीय खेलाडी पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो ।

विष्टले दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन् भने मेहराले दिल्लीबाटै रणजी ट्रफी खेलिसकेका छन् ।

महेन्द्रनगर युनाइटेड टोलीको कप्तानमा विनोद भण्डारी तथा अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षत्री रहेको महेन्द्रनगर युनाइटेडका सन्चालक दिनेश मल्लले जानकारी दिए । रासस