१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतसँग नयाँ सम्झौता हुँदैन, आर्थिक विकास भ्रमणको मुख्य कार्यसूची : परराष्ट्रमन्त्री


0
Shares

भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले बताएका छन् ।

कूटनीतिक मामिलाका समाचार सम्प्रेषणमा सक्रिय केही चुनिएका पत्रकारहरुसँग आइतबार अपराह्न अनौपचारिक कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लाग्नुभएको बताए ।

‘नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण केन्द्रित हुनेछ । भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै उल्लेख्य घोषणा गर्नसक्नेछ,’ उनले भने ।

नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले दिए ।

‘भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो,’ नेपाल र भारतमा लामो समयपछि स्थिर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रुपान्तरण गर्न सहज हुने सन्दर्भ जोड्दै उनले भने ।

एक पृथक प्रसंगमा उनले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको स्पष्ट पारे । साथै, उनले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल सरकार अटल एवं दृढनिश्चयी रहेको बताए । (रासस)