फुटबलको सहर बन्दै बुटवल (भिडियो) • Image Khabar Image Khabar


फुटबलको सहर बन्दै बुटवल (भिडियो)


Imagekhabar
२० चैत्र २०७४, मंगलवार ११:४९

फुटबलको सहर बन्दै बुटवल (भिडियो)

मोफसलमा निरन्तर हुने खेल गतिविधिले नयाँ र उर्जावान खेलाडीलाई थप हौसला त दिएको छ नै, खेलप्रेमी सम्पूर्ण दर्शकलाई समेत उत्कृष्ट खेल पस्कने गरेको छ ।

काठमाडौं बाहिर सबैभन्दा बढी फुटबल प्रतियोगिता हुने जिल्लाहरुमध्ये रुपन्देही पनि एक हो । तिलोत्तमा गोल्डकप, मदनभण्डारी गोल्डकप, झरना रनिङ शिल्ड कप, लिस्नु कप, भूपूसैनिक कपलगायतका दुई दर्जनभन्दा बढी प्रतियोगिता रुपन्देहीमा सञ्चालन हुने गरेका छन् ।

वर्षभरी लगातार भइरहने यस्ता फुटबल प्रतियोगिताहरुले सर्वसाधारणमा फुटबलप्रतिको लगाव बढाएको छ ।

पश्चिम नेपालको बुटवललाई फुटबल शहर भन्दा पनि अन्यथा नहोला । यहींबाट राष्ट्रिय टिमका स्ट्राईकर विमल घर्ती मगरसहित झण्डै एक दर्जन बढी खेलाडीले राष्ट्रिय टोलीमा ठाउँ बनाईसकेका छन् । सरकारको अत्यन्तै कम लगानीका बाबजुद स्थानीयस्तरमै सहयोग जुटाएर यहाँ देशकै ठूला प्रतियोगिता सञ्चालन भइरहेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरबहादुर घर्ती बताउँछन् ।

प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा ३ दर्जनभन्दा बढी फुटबल क्लवबरु क्रियाशील छन् । बुटवलमै रहेको एन्फा एकेडेमीबाट युवा खेलाडीलाई प्रशिक्षण दिने काम भएको छ भने निजी क्षेत्रबाट पनि फुटबल एकेडेमी सञ्चालन भईरहेको छ । स्थानीय सक्रियतामै फुटवल खेलको विकास हुँदा खेलाडी पनि उत्साही छन् ।

रुपन्देहीमा हुने प्रत्येक फुटबल प्रतियोगितामा सहभागी हुने दर्शकको संख्या बढ्दै गएको छ । हरेक प्रतियोगिता हेर्न रंगशाला पुग्ने हजारौं दर्शकहरुले रुपन्देहीलाई फुटबलको उर्वरभूमिको रुपमा प्रमाणित गरिरहेका छन् । सम्भावना र स्थानीय सक्रियताको कदर गर्दै अब राज्यले पनि लगानी बढाउनु आवश्यक छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्