मलेसियाका विपक्षी नेता महाथिरको दल खारेज • Image Khabar Image Khabar


मलेसियाका विपक्षी नेता महाथिरको दल खारेज


Imagekhabar
२३ चैत्र २०७४, शुक्रबार १०:३९

मलेसियाका विपक्षी नेता महाथिरको दल खारेज

आम चुनाव नजिकिँदै गर्दा दल दर्ता गर्ने सरकारी निकायले पर्याप्त कागजात पेश नगरेको भन्दै महाथिरको पार्टी बरसातुको दर्ता नै खारेज गरेको हो ।

प्रधानमन्त्री नाजीव रजाकले आम निर्वाचनका लागि संसद विघटन गर्नु केही दिन अगाडि सरकारी निकायले यस्तो कदम चालेको हो । महाथिरको पार्टीले भने सरकारको कदमविरुद्ध अदालतमा पुनरावेदन गरेको छ ।

न्यायिक पुनरावेदन गर्दै पार्टीलाई राजनीतिक बदनियत राखेर दर्ता खारेज गरेको सो दलको जिकिर छ ।

२२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री रहेका ९२ वर्षीय महाथिर आधुनिक मलेसियाका पिता मानिन्छन् । तर, वर्तमान प्रधानमन्त्रीले वान मलेसिया डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत झण्डै एक अर्ब अमेरिकी डलर आफ्नो निजी खातामा हालेर भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

जेलमा रहेका अर्का बिपक्षी नेता अनवर इब्राहिमसँगको सहकार्यमा महाथिरको नेतृत्वमा प्रधानमन्त्रीबिरुद्ध ठूला–ठूला सडक प्रदर्शनसमेत हुँदै आएका छन् । यसपटकको आम निर्वाचनलाई सन् १९५७ यताकै सबैभन्दा कडा चुनाव मानिएको छ ।

प्रधानमन्त्री नाजीवको सरकारमा रहेका केही पूर्व शक्तिशाली अधिकारी पनि महाथिरको मोर्चामा सामेल भएका छन् । आफू कमजोर हुने देखेपछि प्रधानमन्त्री नाजीवले विपक्षीमाथि पक्राउ, अभिब्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण र पार्टीको दर्ता खारेजसम्म गर्न थालेको विपक्षीको आरोप छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्