Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


राप्रपाद्वारा गोली प्रहार घटनाको छानबिन गर्न माग


0
Shares

राप्रपाका प्रवक्ता भुवन पाठकले आइतबार विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघ–संस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दन्डित गर्न आग्रह गरेका छन् ।

एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गरेका छन् ।

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कारबाही गर्न माग गर्दै घाइतेको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । रासस