२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु


0
Shares

मदिरा सेवनबाट बिरामी परेका केही अरु व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतकको संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् ।

यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न सहरमा गैरकानुनीरूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी गरिरहेको इन्डोनेसियाका सुरक्षा अधिकारीले बताए ।

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला सहरमा मदिरा बिक्रीलाई अभ्यास गर्दै आएका छन् ।

तर, चर्को करले ‘ब्रान्डेड’ मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन् ।

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा ८ सहित पश्चिमी जाभा क्षेत्रमा ५२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्यांकमा छ ।

खोकीको औषधि, लामखुट्टे मार्न प्रयोग हुने कीटनासक रसायनलगायतका रसायनको मिश्रण गरी बनाइएका घरेलु मदिरा बजारमा जाँदा यसको सेवनबाट धेरै नागरिकको ज्यान गुमेको स्थानीय प्रहरी प्रमुख अगुङबुढी मार्योटोले सोमबबार पत्रकार सम्मेलनमा बताए ।

अवैधरूपमा मदिरा उत्पादन गरी असुरक्षित मदिरालाई बजारमा आपूर्ति गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले असुरक्षित मदिरा बजारमा आपूर्ति गर्ने ठूला बिक्रेता तथा डिस्ट्रब्यूटर्स रहेका आशंकामा खोजी गरिरहेको जनाएको छ ।

राजधानीकै कुनै भागमा दुई दर्जन मानिसको असुरक्षित मदिरा सेवनका कारण मृत्यु भएको भन्ने खबरप्रति सुरक्षा प्रशासन थप संवेदनशील बनेको प्रहरीले जनाएको छ ।

सन् २०१६ मा पनि इन्डोनेसियाको मध्य जाभा क्षेत्रमा घरेलु मदिराको सेवनबाट ३६ जनाको मृत्यु भएको थियो । रासस/एएफपी