३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कर्मचारी दम्पत्तीलाई अब एकै ठाउँ दरबन्दी !


0
Shares

सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ । मापदण्ड छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ५७ हजार दरबन्दी स्वीकृत भएसँगै सरकारले त्यहाँ कर्मचारी खटाउन मापदण्ड तयार गरेको हो ।

‘श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए कर्मचारी खटाउँदा दरबन्दी भएसम्म दुवैलाई एउटै स्थानीय तहमा खटाउने, नभए नजिकैको स्थानीय तहमा खटाइने छ,’ मापदण्डमा भनिएको छ, ‘एउटै स्थानीय तहमा खटाउन दरबन्दी नभएमा एउटै जिल्लाभित्र पर्ने गरी सरुवा व्यवस्था मिलाइने छ ।’

श्रीमान, श्रीमती फरकफरक ठाउँमा कार्यरत रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुने भएकाले दुवैलाई एकै ठाउँमा सरुवा मिलाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

मापदण्डमा स्थानीय तहमा कर्मचारी खटाउँदा दीर्घरोगी, जेष्ठता, अपाङ्गता भएका र गर्भवती एवं एक वर्षभन्दा मुनीको बच्चा भएका कर्मचारीलाई सरुवामा प्राथमिकता दिने उल्लेख छ ।

दीर्घरोगी, अपाङ्ग र ५५ वर्ष पूरा भएका कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउने र गर्भवती तथा एक वर्षभन्दा कम उमेरको बच्चा भएका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने मापदण्ड तयार भएको छ । –नागरिक दैनिकबाट