
राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमला गर्नेहरुलाई जवाफ दिन विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका हुन् । उनले सिरियामा अमेरिकी सैन्य कारबाही गर्नेसम्मको चेतावनी दिए । यसबारेमा तत्कालै निर्णय लिइने उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले डुमामा भएको घटनामा को संलग्न छ भन्ने स्पष्टता अमेरिकालाई चाहिएको बताए ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग सिरिया घटनाबारे छलफल गरेका थिए । छलफलमा दुवै नेताबीच सशक्त प्रतिक्रिया जनाउने सहमति भएको थियो ।
यसैबीच अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा आरोप–प्रत्यारोप भएको छ । राष्ट्र संघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमामा भएको घटना मञ्चन गरिएको र त्यसको जवाफस्वरुप अमेरिकाले गर्ने सैन्य कारबाहीले गम्भीर परिणाम निम्त्याउन सक्ने बताए ।
राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सेनाको एक सहयोगी रुसको हातमा सिरियाका बालबालिकाको रगत भएको बताइन् ।
यसअघि राष्ट्र संघीय मानवअधिकार प्रमुखले विश्व शक्तिहरुको रासायनिक अस्त्रको प्रयोगबारे सामूहिक रुपमा उदासिनता देखाएको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्