भारतमा फेरि अर्को दुर्घटना, १८ जनाको मृत्यु, १५ घाइते • Image Khabar Image Khabar


भारतमा फेरि अर्को दुर्घटना, १८ जनाको मृत्यु, १५ घाइते


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार १४:१४

भारतमा फेरि अर्को दुर्घटना, १८ जनाको मृत्यु, १५ घाइते

मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ ।

‘सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ’–पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

उनले थप स्पस्ट पार्दै भने–‘ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।’

अधिकारीहरुकाअनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए ।

घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुको भनाइ छ ।

घटनास्थलमा पुगेर प्रहरीले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । प्रहरीले घटनाकाबारेमा अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने जनाएको छ ।

प्रारम्भिक विवरणहरुकाअनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

यसअघि, सोमबार हिमाञ्चल प्रदेशमा भएको विद्यालयको बस दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्षमुनिका बालबालिका रहेका बताइएको छ ।

काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कुलका झन्डै ४० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो ।

सडकबाट झन्डै २०० फिट तल गहिरो खोंचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २७ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बसचालक रहेका छन् ।

भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकमध्येमा पर्छ । चालकको लापरबाही तथा सडक र सवारी–साधन राम्रोसँग मर्मत नगरिँदा अधिकांश दुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्