सिरियाबारे राष्ट्रसंघमा अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा • Image Khabar Image Khabar


सिरियाबारे राष्ट्रसंघमा अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा


Imagekhabar
२८ चैत्र २०७४, बुधबार ०९:२९

सिरियाबारे राष्ट्रसंघमा अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा

रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको पनि बताइएको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्ताव न्यूनतम प्रतिक्रिया भएको उल्लेख गरिन् । डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत छन् ।

तर, राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले सिरियाविरुद्ध कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वासिंटटनलाई आग्रह गरेका छन् ।

यसैबीच, सिरियामा गरिएको रासायनिक आक्रमणबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संगठनको टोली सिरिया प्रस्थान गरेको छ । अर्गनाइजेशन अफ प्रोहिबिसन अफ केमिकल वेपन्सको टोली सिरिया गएको हो ।

उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा हालै भएको रासायनिक आक्रमणका बारेमा ठोस कदम चाल्न भन्दै लेटिन अमेरिकी मुलुकको भ्रमण नै रद्द गरेका छन् ।

पेरुमा हुन लागेको अमेरिकी मुलुकहरुको शिखर सम्मेलनमै नगई ट्रम्प वासिंगटनमै रहने भएका हुन् ।

सम्मेलनमा भने उपराष्ट्रपति माइक पेस सहभागी हुनेछन् ।

सिरियाका राष्ट्रपतिलाई जनावरको संज्ञा दिएका ट्रम्पले सिरियाको ज्यादती अब धेरै दिन नटिक्ने चेतावनी दिए ।

सिरियामा हालै भएको रासायनिक आक्रमणमा ७० जना मारिएका थिए । रुस र सिरियाले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्