तामाकोसी जलविद्युत् आयोजना तोकिएको समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन • Image Khabar Image Khabar


तामाकोसी जलविद्युत् आयोजना तोकिएको समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


Imagekhabar
२८ चैत्र २०७४, बुधबार १७:५३

तामाकोसी जलविद्युत् आयोजना तोकिएको समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङमार्ग र बाँधस्थलको बुधबार अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा सहयोग पुर्‍याउन आग्रह गरे ।

उनले आयोजनाको ढिलाइले दैनिक रु चार करोड घाटा भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री, ऊर्जासचिव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमेतलाई सँगै राखेर आयोजनाका कर्मचारीलाई आयोजना निर्माणकाक्रममा कुनै समस्या वा बाधा अड्चन आए सीधै आफूलाई खबर गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार नयाँ ढंगका साथ नयाँ गति र नयाँ योजनाका साथ अगाडि बढेको बताउँदै समृद्ध नेपाल निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढेकाले सरकारको कुनैपनि अंगबाट विकास निर्माणकार्यमा समस्या नआउने उल्लेख गरे ।

आयोजना निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले केही ढिलाइ गरिरहेकाले समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले आफूसँगै चिनियाँ राजदूत यु होङलाईसमेत साथै लगेका थिए ।

राजदूत यु होङले आयोजनाको काममा ढिलाइबारे चासो प्रकट गर्दै सिनो हाइड्रो कम्पनीका मुख्य व्यक्तिहरुसँग छलफल गरेर टुंग्याउने बताइन् ।

अनुगमनमा ऊर्जामन्त्री वर्षमान पुनले आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै समयमा नै निश्चित तालिकाभित्र निर्माण सम्पन्न हुनैपर्ने बताए ।

हालसम्म आयोजनाको ९४ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

आयोजनाको वित्तीय व्यवस्थापन र मोडल तथा अन्य विषयबारे आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आयोजनाको हालसम्मको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

श्रेष्ठले आयोजनाको काम केही चुनौतीपूर्ण रहेको र चरिकोट–लामासाँगु सडक क्षतिग्रस्त रहेका कारण आयोजना निर्माण सामग्री ढुवानीमा नै समस्या भएको बताए ।

श्रेष्ठले चिनियाँ कम्पनी र भारतीय ठेकेदार कम्पनीले गरेको कार्य प्रगतिजनक नभएको भन्दै ठेकेदार कम्पनी ठेक्सनाको रेलवये इन्जिनियरिङलाई कूटनीतिक तहबाट चाँडो कार्य सम्पन्न गर्न सरकारले अनुरोध गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

आयोजना भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष पर धकेलिएको छ । आयोजनाले आगामी २०७५ साल पुस मसान्तसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ भने सबै ६ ओटा युनिटबाट विद्युत् उत्पादन २०७६ साल वैशाखबाट गर्ने बताइएको छ ।

आयोजनाको हालसम्मको लागत रु ३७ अर्ब ७१ करोड रहेको बताइएको छ भने आयोजना सम्पन्न हुँदासम्म लागत रकम रु ४९ अर्ब २९ करोड पुग्ने प्रवक्ता न्यौपानेको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्