
उनीविरुद्ध परेको उजुरीको छानबिन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको छ ।
भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुलदिप सिंह र उनका एकजना भाइविरुद्ध एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
त्यससम्बन्धी उजुरी परेकाले प्रहरीले बिहीबारबाट उक्त फाइल अध्ययन गरेको जनाएको छ । तर, प्रहरी भने कानुनीरुपमा के–कसरी अनुसन्धान अघि बढाउने भन्नेबारेमा त्यति स्पस्ट देखिएको छैन ।
५१ वर्षीय सांसद सिंह सो प्रदेशको एकजना शक्तिशाली राजनीतिज्ञ हुन् । सोही कारण प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पनि नसकेको भन्दै आलोचना भएको थियो ।
उक्त प्रदेशका मुख्यमन्त्रीले उनलाई नियन्त्रणमा लिन अनुमति नदिएसम्म प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्नपनि सकेको छैन ।
उत्तर प्रदेशका प्रहरीप्रमुख ओमप्रकाश सिंहले भने–‘सांसद सिंहकाविरुद्धमा बालिका बलात्कारको मुद्दा परेको छ र यसमा अब प्रहरी कसरी अघि बढ्ने भन्नेबारेमा हामी सल्लाह गरिरहेका छौं ।’
गत वर्षको जुन महिनामा ती बालिकालाई अपहरण गरी बलात्कार गरिएको बताइएको थियो । पछि अनुसन्धानकाक्रममा प्रहरीले ती सांसदलाई नियन्त्रणमा लिन सकेको थिएन ।
गत हप्तामात्र ती बालिकाको बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो र निर्घात् कुटपिट गरेको बताइएको थियो । प्रहरीको कुटपिटबाटै ती बालिकाका बुवाको प्रहरी हिरासतमै निधन भएको छ ।
ती बालिकाले आफ्ना बुवालाई प्रहरीले ती सांसदकाविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट निधन भएको भन्दै गत शनिबारमात्र उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।
यो घटनाले भारतीय सन्चारमाध्यममा ठूलो चर्चा पाएको छ । उनीहरुले प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको भनी समाचार प्रकासन/प्रशारण गरेका छन् ।
भारतमा बलात्कारका घटनामा वर्षेनि वृद्धि भइरहेको बताइन्छ । पछिल्लो वर्ष अर्थात् सन् २०१७ मामात्र कम्तीमा पनि ४० हजार बलात्कारका घटना दर्ता भएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्