३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


हनुमानढोकास्थित गद्दी बैठकको पुनःनिर्माण सम्पन्न (भिडियो)


0
Shares

नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार १२ । वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गद्दी बैठकको पुनःनिर्माण अमेरिकी सरकारको सहयोगमा गरिएको हो ।

२०७२ सालको भूकम्पले क्षति भएको हनुमानढोकास्थित गद्दी बैठकको पुनःनिर्माणको जिम्मा अमेरिकी राजदूतको संस्कृति संरक्षण कोषलाई सन् २०१७ को अक्टोबरमा दिइएको थियो ।

अमेरिकी राजदूतको संस्कृति संरक्षण कोष तथा भूकम्पप्रतिरोध क्षमता वृद्धिका लागि मियामोटो डिजास्टर रिलिफमार्फत् आर्थिक सहयोग र नेपाल सरकार पुरातत्व विभागको समन्वयमा यो बैठकको पुनःनिर्माण सम्पन्न भएको हो ।

वि.सं १९०८ मा राजा पृथ्वीविक्रम शाहको पालामा राणा प्रधानमन्त्री चन्द्रशमशेरले यो बैठकको निर्माण गरेका थिए ।

राजदरबारको मूलढोकामा अरु मानिसहरुले प्रवेश नपाउने भएपछि मन्त्री र राजाका विदेशी पाहुनाहरुलाई प्रवेश गर्न दिने उद्देश्यले यो दरबार बनाइएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायती डिजाइनअनुसार यो दरबार बनाउन लगाएको बताइन्छ ।

धार्मिक महत्वसमेत बोकेको गद्दी बैठक ऐतिहासिक धरोहरकारुपमा रहेको हनुमानढोका संग्रहालय विकास समितिका निर्देशक अरुणा नकर्मी बताउँछिन् ।

यो दरबारमा प्रयोग भएका अरु विभिन्न सामानहरु पनि विदेशबाट आयात गरिएका छन् ।

विश्व सम्पदा सूचीमा परेका अरु सम्पदाहरु पुनःनिर्माणका लागि पनि गद्दी बैठक उदाहरण हुने उनको भनाइ छ ।

भिडियो हेर्नुहोस्