२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति र उपराष्ट्रपतिले दिए नयाँ बर्षको शुभकामना, देउवाले दिए यस्तो सन्देश


0
Shares

काठमाडौं, बैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ वर्षको शुभकामना व्यक्ति गरेका छन् ।

राष्ट्रपति भण्डारीले नयाँवर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य, दीर्घायू, भ्रातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।

उनले २०७४ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनर्संरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरेकी छिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद् अवसरमा देश विदेशमा रहेका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।