२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फ्रान्सका राष्ट्रपति भन्छन: ‘ट्रम्पलाई सिरियामा आक्रमणका लागि मैले नै सहमत गराएको हुँ’


0
Shares

काठमाडौं, बैशाख ३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा आक्रमणका लागि आफूले नै सहमत गराएको दावी गरेका छन् ।

लामो समयसम्म रहनपर्ने भन्दै सिरियाबाट अमेरिकी सैनिक फिर्ता नबोलाउन आफूले राजी गराएको दावी उनले गरेका हुन ।

यसै महिनाको शूरुमा सिरियाबाट चाँडै नै फिर्ता आउने घोषणा गरेका ट्रम्पले गत शनिवार ब्रिटेन र फ्रान्सको साथमा सिरियामा हवाई आक्रमण गर्न आदेश दिएका थिए ।

आक्रमण पनि केही निश्चित स्थानमा मात्र गर्नुपर्नेमा पनि आफूले अमेरिकालाई सहमत गराएको दावी राष्ट्रपति मैक्रोंको छ ।

यसैबीच सिरियाली राष्ट्रपति बशर अल असदसँग सम्बन्धित रुसी कम्पनीमाथि सोमवार प्रतिबन्ध लगाइने अमेरिकाले जनाएको छ ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्ध पश्चिमा शक्तिले थप क्षेप्यास्त्र प्रहार गरे त्यसले अन्तर्राष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।

इरानी राष्ट्रपति हशन रुहानीसँग भएको टेलिफोन कुराकानीका पुटिने यस्तो चेतावनी दिएका हुन् ।

सिरियाली सरकारका दुई महत्वपूर्ण सहयोगी रुस र इरानले आक्रमणसँगै सिरियामा राजनीतिक निकासको सम्भावना क्षीण भएको निष्कर्ष पनि निकालेका छन् ।

अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरपरको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेपछि रुस, चीन र इरानले आपत्ति जनाएका छन् ।

यसैबीच, रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठनका अनुगमनकर्ताहरुको एउटा टोली रासायनिक आक्रमण भएको भनिएको सिरियाको डुमा नगरतर्फ छानबिनका लागि जाने बताइएको छ । (एजेन्सी)